कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, राजीनामा दिने सम्भावना बढी - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, राजीनामा दिने सम्भावना बढी



काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार गत भदौ २२ गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

तर, कार्कीले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन। गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले नै अहिलेको सरकारलाई विश्वासको मत नदिने संकेत गरेका छन्। कार्कीलाई यसअघि मत दिएको राप्रपाले पनि योपटक विश्वासको मत नदिने बताएको छ।

अहिले प्रदेश सभामा एमालेसँग ३९ मात्रै सांसद (उपसभामुखबाहेक) छन्। कांग्रेसको २९, माओवादी केन्द्र को १३, राप्रपाको ६ एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन्।

यसअघिको कार्यकालमा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए। यसपटक उपसभामुखले मत हाल्न पाउने छैनन्। उनले प्रदेशसभा बैठक चलाउनु पर्ने छ।

यस्तो अवस्थामा एमालेसँग ३९ मत मात्रै छ। मुख्यमन्त्री कार्कीले राजीनामा दिने सम्भावना छ।