शिक्षकहरूले टेरेनन् काठमाडौं महानगरको निर्देशन - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

शिक्षकहरूले टेरेनन् काठमाडौं महानगरको निर्देशन



काठमाडौं- काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा जाने भएका छन्। बुधबार महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी हुने जानकारी दिएका छन्।

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयक खारेजीका लागि शिक्षक महासंघले बुधबारदेखि माइतीघरमा विशाल आन्दोलन सुरु गरेको छ। देशभरबाट आएका शिक्षकहरू आन्दोलनमा सहभागी छन्। महानगरपालिकाका सामुदायिक विद्यालयका प्रध्यानाध्याकहरूले आन्दोलनलाई समर्थन गर्दै अनिश्चित रुपमा विद्यालय बन्द गर्ने बताएका छन्।

माइतीघरमा नियमित हाजिर हुनेगरी सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन विज्ञप्तिमार्फत् प्रधानाध्यापकहरूले आग्रह समेत गरेका छन्।

आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिलाई परिपूर्ति गर्न विदाका दिनमा पठनपाठनमा गरिने प्रतिबद्धता उनीहरूले गरेका छन्।

विधेयकको प्रावधानविरुद्ध नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा बुधबारबाट काठमाडौंमा वृहत सडक आन्दोलन जारी छ। बुधबार नै काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरी आन्दोलमा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको छ।