समाजवादी मोर्चाको कार्यदल गठन, के गर्छ कार्यदलले ? - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

समाजवादी मोर्चाको कार्यदल गठन, के गर्छ कार्यदलले ?



काठमाडौं । समाजवादी मोर्चा नेपालले आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार बसेको मोर्चाको पहिलो बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने भएकाे छ ।

कार्यदलमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा सदस्य रहेका छन् ।

कार्यदलले मोर्चाको आगामी नीति र आचारसंहिता तय गर्ने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
मोर्चाको अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने पाण्डेले बताए ।

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने पाण्डेले बताए ।

यस्तै, हरेक ६ महिनामा मोर्चाको अध्यक्ष एकजनाले गर्ने विषयमा पनि छलफल भएको छ । ६–६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने उपाध्यक्ष पाण्डेले बताए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी थिए ।