शेखरको प्रश्न- रेकर्डबाट हटाउँदैमा जलहरीको अनियमितता रोक्न सकिएला र? - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

शेखरको प्रश्न- रेकर्डबाट हटाउँदैमा जलहरीको अनियमितता रोक्न सकिएला र?



नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्‌मा शंकास्पद अनियमिततासम्बन्धी उठेको विषय रेकर्डबाट हटाउनु विडम्बना भएको बताएका छन्।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा हालिएको सुनको जलहरीमा अनियमिततासम्बन्धी दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएकामा उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार जलहरीसम्बन्धी भनाइ संसद्‌को रेकर्डबाट हटाइएको थियो।

‘कस्तो विडम्बना! संसद्‌मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियतासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुरुप कार्य गर्ने,’ सांसदसमेत रहेका कोइरालाले भनेका छन्।

सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र?’

नेताहरुको सहमतिमा केही कुरा संसद्‌को रेकर्डबाट हटे पनि देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत् पनि छन् भन्ने कुरा बुझ्न कोइरालाले सचेत गराएका छन्।

‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादै छौँ? के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो,’ प्रश्न गर्दै उनले भनेका छन्, ‘संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन् भन्ने कुरा बुझौँ।’