टुकुचामा फेरि डोजर चलाउने बालेन शाहको तयारी - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

टुकुचामा फेरि डोजर चलाउने बालेन शाहको तयारी



काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाहले उच्च अदालत (पाटन) को फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने प्रमाणित गरेको दाबी गरेका छन्।

टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर बनाइएको भन्दै मेयर शाहले डोजर लगाएर उत्खनन गर्न थालेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोला विक्रम थापाले उच्च अदालतमा रिट निवेदन दिएका थिए। जसमा सुनवाइ गर्दै गत असोजमा अदालतले टुकुचा खोलामाथि बनेका घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो।

तर केही दिनअघि सार्वजनिक उच्च अदालतको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक रूपमा फर्काउने बाटो खुला गरेको दाबी मेयर शाहले आज सामाजिक सञ्जालमार्फत गरेका हुन्।

‘केही दिनअघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ’, मेयर शाहले लेखेका छन्, ‘टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ।’

उनले अगाडि भनेका छन्, ‘अब टुकुचा खोलाको क्षेत्राधिकारभित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुनबमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुनेगरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।’