एआईजी श्याम ज्ञवालीलाई अख्तियारले दियो "क्लीन चिट" - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

एआईजी श्याम ज्ञवालीलाई अख्तियारले दियो “क्लीन चिट”



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि परेको उजुरीमा कुनै कैफियत नदेखिएको जनाएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) को प्रतिस्पर्धामा रहेका एआईजी ज्ञवालीमाथि प्रहरी सेवामा प्रवेश गर्दा शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति सच्याएर सेवामा प्रवेश गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

सोही उजुरीबारे अनुसन्धान गरेको अख्तियारले करिब एक महिनापछि नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नदेखिएपछि उजुरी तामेलीमा राखेको हो ।

यसअघि ज्ञवालीको जन्ममितिबारे गृह मन्त्रालयले समेत अनुसन्धान गरेको थियो । गृहले समेत उनको शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममितिमा कैफियत नदिएको जनाएको छ ।

ज्ञवालीमाथि अख्तियारमा परेको उजुरीकै कारण सरकार उनलाई आईजीपी नियुक्त गर्नबाट पछि हटेको थियो ।

तत्कालीन आईजीपी धीरजप्रताप सिंहले ११ चैत २०७९ मा प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि एआईजी वसन्तबहादुर कुवँर र ज्ञवाली मुख्य प्रतिस्पर्धी थिए ।

ज्ञवालीमाथि अख्तियारमा उजुरी परेपछि सरकारलाई आईजी कुँवरलाई आईजीपीमा बढुवा गर्न सहज भएको थियो ।