फरार रहेका टोपबहादुर र एमाले अध्यक्ष ओलीबीच लगातार सम्पर्क - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

फरार रहेका टोपबहादुर र एमाले अध्यक्ष ओलीबीच लगातार सम्पर्क



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र फरार भएका पार्टीका सचिव टोपबहादुर रायमाझीबीच फोनमा कुरा भैरहेको खुलेको छ । ओली आफैले टोपबहादुरसँग पक्राउ पूर्जी जारी भएपछि कुरा भैरहेको बताएका छन् ।

एकाएक सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किने क्रममा यस्तो बताएका हुन् । पार्टीका नेतामाथि पक्राउ पूर्जी जारी भएपछि उनी बिहानै सिंहदरबार पुगेका थिए ।

उनले रायमाझी भाग्ने मान्छे नभएको जिकिर समेत गरेका छन् । घटना रहस्यमय भएको भन्दै उनले निर्दोष मान्छेलाई फसाउन खोजे एमाले चुप लगेर नबस्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएपछि अदालतले पक्राउ पूर्जी जारी गरेको छ भने नेता रायमाझी भने फरार छन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले निर्दोषलाई फसाउन खोजे नसहने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भएको भेटमा उनले यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।

प्रचण्डसँगको भेटपछि पत्रकारहरूसँग भने, ‘निर्दोष फस्नु हुँदैन, दोषीमाथि कारबाही हुनुपर्छ ।’ उनले टोपबहादुर रायमाझीबारे अध्ययन गरिरहेको बताए । उनले यो प्रकरणमा रायमाझी तानिएका हुन् कि तनाइएको हो अध्ययन भइरहेको बताए । उनले बहालवाला सांसदलाई बाटैबाट नियन्त्रणमा लिनु पनि रहस्यमयी भएको प्रतिक्रिया दिए । उनले बहालवाला सांसद, पूर्वउपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई बाटोमा समात्नु रहस्यपूर्ण रहेको बताए ।

उनले भने, ‘समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । यो तानेको हो कि तनाएको हो भन्ने अध्ययन हामी गर्दैछौँ । अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ । निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ ।’

उनले अगाडि भने, ‘४ वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेक जस्ता कुराहरु, एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन । यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु ।’