टोपबहादुरले भने- डेढ करोडको चेक साटेको छैन - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

टोपबहादुरले भने- डेढ करोडको चेक साटेको छैन



नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूले डेढ करोडको चेक नासातेको बताएका छन् । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रायमाझीले यस्तो बताएका हुन् ।

उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आफूले चेक पनि नसाटेको बताए । ‘मेरो छोराको नाममा लिएको चेक अहिलेसम्म साटेको छैन ।’

उनले आफ्नो नाममा एउटा मात्र बैंकमा एकाउन्ट भएको बताए । ‘म मन्त्री हुँदा मेरो नाममा सरकारले खाता खोलिदिएको थियो। त्यही एभरेस्ट बैंकको खाता चलाइरहेको छु। अरु कुनै खाता पनि मसँग छैन’ उनले भने ।

‘नक्कली शरणार्थी प्रकरणबारेमा मलाई त्यति थाहा छैन। यो कुरा सुनेर मलाई पनि आश्चर्य लागेको छ’, उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने विषयमा मेरो कुनै किसिमको संलग्नता छैन।’

उनले आफू मन्त्री भएका बेला भुटानी शरणार्थी समस्या समाधानमा पहल गरेको बताए। ‘भुटानी शरणार्थी समस्या समाधानमा हामीले काम गरेका थियौँ। सरकारमा हुँदा हामीले तीनवटा निर्णय गरेका थियौँ’, उनले भने, ‘भुटानी शरणार्थीहरुलाई दीर्घकालीन समस्या हल गर्न रोजगारी सिर्जनाको प्रयत्न गर्ने कुरा भएको थियो।’

उनले ५ करोडभन्दा धेरै ठगी प्रकरणमा जोडिएका दुईजना व्यक्तिसँग घुम्न गएकोबाहेक अरु कुनै साइनो नरहेको पनि बताएका छन्।

‘मैले दुईजना मान्छेलाई चिन्थेँ। घुम्न जाने नाममा गएका हौँ। ती चिनेका मान्छेहरुसँग घुम्न जाँदा फोटो खिचेको हो’, उनले भने, ‘त्यसबेला मेरो छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटेको रहेछ। त्यसपछि मेरो छोराको नाममा डेढ करोडको चेक काटेको कुरा आएको थियो। चेक खारेज हुन्छ भन्ने पनि थाहा थिएन।’

उनले पक्राउ पुर्जी जारी गरेको विषयमा आश्चर्य व्यक्त गरे । ‘यो सुनेर मलाई पनि आश्चर्य लागेको छ’, उनले भने, ‘म अब काठमाडौं जाँदैछु, थप कुरा बुझेर भनौँला, मेरोतर्फबाट कानुनलाई पूरा सहयोग हुन्छ।’