माओवादीकै मन्त्रीले भने- रवि लामिछानेले रोजेको मन्त्रालय दिनुपर्छ - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

माओवादीकै मन्त्रीले भने- रवि लामिछानेले रोजेको मन्त्रालय दिनुपर्छ



संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्।
शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले सो कुरा बताएका हुन्।

होटल पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु।’

हजारौं जनताको बलिदानी बाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न नसकेको उनको भनाई थियो।

‘देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौँ,’ मन्त्री किरातीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो। यो जनताको आक्रोस हो। मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो।’

साथै, उनले राजनीतिमा धेरै विभाजन आएको भन्दै देशलाई संकटबाट मुक्त गर्नका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्न समेत आह्वान गरे।

‘हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ। अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ,’ उनले भने। मन्त्री किरातीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नु परेको समेत बताए।

‘एउटा व्यवसाय दर्ता गर्न ७ ओटा मन्त्रालय र २२ ओटा विभाग र सयौ टेबल पुग्नु पर्ने अवस्था छ। विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम कानुन छन्,’ उनले भने, ‘पैसामा चाबि लगाएर मरूभूमिमा श्रम गर्न पठाउने हाम्रो नीतिमा मै खोट छ। युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ तर तिनलाई नै आज प्लेनको टिकट महँगो भएकोले सास्ती भइरहेको छ।’

होटल व्यवसायीले पाहुनालाई कहिल्यै नबिर्सने सेवा दिएपछि मात्रै पर्यटनको सुन्दर आधार बन्ने समेत मन्त्री किरातीले बताए।