वायुसेवा निगम मन्त्रीको पैसा उठाउने अड्डा, किराँतीले गरे खुलासा - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

वायुसेवा निगम मन्त्रीको पैसा उठाउने अड्डा, किराँतीले गरे खुलासा



काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम विगतका विभागीय मन्त्रीहरूले नै ध्वस्त पारेको आरोप लगाएका छन् ।

विगतमा वायुसेवा निगमको तालुक मन्त्रालयमा मन्त्री भएर आउने मन्त्रीहरूले निगमको नेतृत्व नियुक्तिदेखि विभागीय जिम्मेवारी तोक्नेसम्मको काममा रकम असुल्ने गरेको भन्दै निगमलाई ध्वस्त पार्न पूर्वमन्त्रीहरूकै भूमिका रहेको आरोप लगाएका हुन् ।

निगमको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले भने– ‘म मन्त्री भएको सय दिन भयो । यो बेलासम्ममा मलाई धेरै कुरा थाहा भयो । वायुसेवा निगमलाई यो अवस्थामा पुर्याउन मन्त्रीहरूको ठूलो हात रहेछ ।’

हाल वायुसेवा निगमको तालुक मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री किरातीले विगतमा पर्यटन मन्त्रीहरूले कर्मचारीसँग करोडौँ रकम असुलेको भन्दै यस्तो आरोप लगाएका हुन् ।

मन्त्री किरातीले भने– ‘नागरिक उड्ड्यनको तालुकदार मन्त्रीले कर्मचारीबाट लाख होइन करोडमा पैसा उठाएपछि ति कर्मचारीले व्यवसायीक कार्ययोजनाभन्दा पनि पैसा असुल्न मात्र कार्ययोजना बनाउँदै आएका रहेछन् । यसरी हेर्दा निगम डुबाउन मन्त्रीदेखि कर्मचारीसम्मको भूमिका सहजै देखिन्छ ।’

मन्त्री किरातीले निगमलाई डुबाउनेहरूलाई आफू टुलुटुलु हेरे नबस्ने भन्दै निगमलाई भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छे जस्तै डिस्चार्ज गर्नु आजको मुख्य जिम्मेवारी रहेको बताए ।