एकको बदला दुई सांसद लिएर संसद छिर्दै रवि - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

एकको बदला दुई सांसद लिएर संसद छिर्दै रवि



काठमाडौं- गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक पद गुमायो। कारण- सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको पद सर्वोच्च अदालतको एउटा आदेशले गुम्न पुग्यो।

उनी निर्वाचित भएको चितवन-२ खाली भयो। साथै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएपछि थप दुई क्षेत्र खाली भए। निर्वाचन आयोगले तीनै क्षेत्रमा एकै दिन वैशाख १० गते उपनिर्वाचन गराएको छ। उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। तनहुँ-१ मा स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन्। उनी हालैमात्र कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका हुन्।

यता चितवनमा लामिछानेको जित निश्चित भएको छ। मंगलबार बिहानसम्म ५० हजार मत गणना हुँदा लामिछानेले ३६ हजार मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७ हजार १४८ छ। उनीहरूबीचको मतान्तर २९ हजार छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब गन्न बाँकी मत २८ हजारमात्र छ। जबकि लामिछानेले प्रतिस्पर्धीसँग २९ हजारको मतान्तर बनाइसकेका छन्।

प्रतिनिधिसभामा एक सिट गुमाएको रास्वपाले त्यो परिपूर्ति गर्दै एक थपेको पनि छ। पार्टी सभापति लामिछानेले त एकको बदला तीन जना सांसद लिएर संसद् छिर्ने उद्घोष गरेका थिए।

बारा-२ मा रास्वपाले पूर्वडीआइजी रमेश खरेललाई अघि सारेको थियो। खरेल भने स‌ंसद् छिर्ने सम्भावना निकै कम छ। मतगणना चलिरहँदा उनी चौथो स्थानमा छन्। त्यहाँ उपेन्द्र यादव अग्रस्थानमा छन्।