स्वर्णिम वाग्लेलाई ७० प्रतिशत मत - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

स्वर्णिम वाग्लेलाई ७० प्रतिशत मत



काठमाडौं । आइतबार सम्पन्न भएको तीन क्षेत्रका उपनिर्वाचनको मतगणना सुरु भएको छ । चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको थियो ।

जसमध्ये अहिले तनहुँको मतगणना जारी छ । तनहुँ १ मा भएको निर्वाचनमा मतगणना सकिएका हरेक वडामा रास्वपाका वाग्लेको मत अन्य उमेदवारको भन्दा निकै अघि देखिएको छ ।

उनका प्रतिष्पर्धी कांग्रेसका गोविन्द भट्टराई र एमालेको सर्वेन्द्र खनाल निकै पछि छन् । आँबुखैरेनीको एउटा वडामा त डा. वाग्लेलाई ७० प्रतिशत मत खसेको पाइएको छ ।

आँबुखैरेनीको गाउँपालिका वडा नम्बर ३ मा कूल खसेको मत २१७३ थियो । त्यसमा वाग्लेले १५१५ मत पाएका थिए भने कांग्रेसका भट्टराईले ४०१ र एमालेका खनालले जम्मा १९१ मत प्राप्त गरेका थिए ।

समाचार तयार पार्दासम्म तनहुँ १ मा अहिलेसम्म १८ हजार बढी मत गणना सम्पन्न भएको छ । अहिलेसम्म सम्पन्न मतगणनामा डा. स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले ५ हजार मत पाएका छन् ।

नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनाल सुरुवातदेखि नै तेस्रो स्थानमा छन् ।

त्यसैगरी बारा २ मा सर्वपक्षीय छलफल भइरहेको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत मतगणनाका लागि बैठक बसेको हो । बिहान ८ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेललगायत प्रतिष्पर्धामा छन् ।

त्यसैगरी चितवनमा पनि सर्वपक्षीय बैठक जारी छ । चितवन २ मा मतगणना सुरु गर्न बिहानै ८ बजे बैठक बोलाइएको भए पनि ९ बजेपछिमात्रै सुरु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले उजुरी दिएको र उनको जवाफ नआएसम्म मतगणना हुन नसक्ने अडान राखेपछि ढिला भएको थियो ।

सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी पनि उपस्थित हुने र सोही बैठकमा आफ्ना धारणा राख्ने भएपछि सबै दल बैठकमा बस्न तयार भएका छन् ।

चितवन २ मा रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेलगायतका उमेदवार चुनावी मैदानमा छन् ।