उत्ताउला हर्कत गर्नेहरू एमाले बन्न मिल्दैन- केपी ओली - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

उत्ताउला हर्कत गर्नेहरू एमाले बन्न मिल्दैन- केपी ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

एमालेमा प्रवेश गरेपछि गंगा नदी जस्तै शालीन हुनुपर्ने उनले बताएका थिए । ‘कालीगंगामा सबै गएपछि गंगा नै हुन्छ । तिनको खहरे प्रवृत्ति, उत्ताउला प्रवृत्ति सबै हराउँछ’, उनले भने, ‘एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो ।’

अध्यक्ष ओलीले शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्ने बताएका थिए । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै उनले एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताएका थिए ।

‘एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी हो, बेइमानी भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन,’ उनले भने, ‘तर फेरि पनि कहीँ कहीँ सुनिन्छ, त्यस्ता अनुचित विजातीय प्रवृत्ति पनि पार्टीभित्र प्रवेश भएका छन्, तिनीहरुलाई हामीले हटाउनु पर्नेछ ।’

उनले ज्ञवालीलाई पराजित गर्ने चन्द्र भण्डारीलाई भलाद्मी नेता भए पनि कांग्रेसको नीति भने खराब रहेको भन्दै कटाक्ष गरेका थिए ।