गुल्मी पुगेर ओलीले भने- प्रदीप ज्ञवालीलाई हराउनु गुल्मेली जनताको भुल हो - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

गुल्मी पुगेर ओलीले भने- प्रदीप ज्ञवालीलाई हराउनु गुल्मेली जनताको भुल हो



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदीपकुमार ज्ञवाली हार्नुको मुख्य कारण गुल्मेली जनताको भुल भएको बताएका छन् । गुल्मेली जनताबाट भुल हुँदा प्रदीपले हार्नुपरेको उनको तर्क थियो ।

नेकपा एमालेले सञ्चाचालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत सोमबार गुल्मीको तम्घासमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले परराष्ट्रमन्त्री भइसक्नुभएका ज्ञवालीको छवि देशमा मात्रै नभएर विदेशमा पनि स्वच्छ भएको बताए।

‘चुनावका बेला कतिपय कमजोरी भए होलान । धेरै मत पाएर पनि झिनो मतले उहाँले चुनाव हार्नुभयो’,ओलीले भने,‘मिसन ग्रासरुटमा घरघर पुगेर यस विषयमा पनि समीक्षा गर्नुस् ।’

उनले गम्भिरताका साथ सबैले खुलस्त छलफल गरेर भएका कमीकमजोरीलाई सच्चाउन कार्यकर्तालाई निर्देशन समेत दिए । अध्यक्ष ओलीले मिसन ग्रासरुट अभियानले पार्टी थप मजबुत र जनताको प्रिय बन्ने विश्वास समेत व्यक्त गरे ।

विरोधीहरूले एमालेविरुद्ध फैलाएको अपवाहलाई गाउँगाउँ पुगेर चिर्न ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

गुल्मी क्षेत्र नम्बर १ मा ज्ञवालीलाई हराउँदै कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका थिए। एमाले नेता ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले हराउँदै भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।