बानरहरूलाई सँगै लिएर जान खोजेको थिएँ, 'बानरको हातमा नरिवल' बनाए- केपी ओली - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बानरहरूलाई सँगै लिएर जान खोजेको थिएँ, ‘बानरको हातमा नरिवल’ बनाए- केपी ओली



काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग बहुमत नभएपछि बानरहरूलाई सँगै लिएर जान खोजे पनि आफू असफल भएको बताएका छन्।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई इंगित गर्दै साथै लिएर जान खोजे पनि अन्तमा बाँदरको हातमा नरिवल भएको बताए।

‘हामीसँग बहुमत थिएन। आफूसँग जनता नभएपछि रामचन्द्रले पनि बानर सेना लगेकै हुन्। हामी पनि बानरहरूलाई मिलाएर लैजान खोजेका थियौं। तर बाँदरको हातमा नरिवल न हो,’ गुल्मीमा मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले भने।

उनले अर्को निर्वाचनमा नेकपा एमाले एक्लैलै बहुमत ल्याउनुपर्ने बताए। त्यसका लागि अहिल्यैदेखि गाउँ, टोलीदेखि स्थानीय, प्रदेशमा नेताहरू सक्रिय हुनुपर्ने बताए। उनले पार्टीभित्र खिया लागेको भन्दै धारिलो बनाएर लैजानुपर्ने समेत बताए।

‘पार्टीमा कमरेडहरू खिया लागेको पाइयो। पार्टी भुत्ते भएको पाइयो। धार नभएको। खिया हटाएपछि मात्रै यो काम लाग्ने हुन्छ,’ उनले भने। उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनुपर्ने उनको भनाइ छ।