देश बन्छ भनेर कसैले विश्वास गर्न सक्ने अवस्था छैन- गगन थापा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

देश बन्छ भनेर कसैले विश्वास गर्न सक्ने अवस्था छैन- गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश राम्रो बन्छ भनेर कसैले विश्वास गर्न सक्ने आवस्था नभएको बताएका छन्।

सामुदायिक रेडियो प्रसारक संघको १७औं साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले आश दिलाउनुपर्ने बताए। “तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेका छैनन्, सबै भाग्न मात्रै चाहन्छन्,” थापाले भने, “हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुँदै छ भनेर कसैले आश गर्न सकिरहेको छैन।”

अहिले राजनीतिक दाउपेचका समाचार सुनेर खुशी हुने अवस्था नरहेको उनले बताए। अहिलेको अवस्था त्यति धेरै नबिग्रिएको थापाको भनाइ थियो।

तथापि, तन्नेरीहरू आत्तिइरहेको उनले सुनाए। थापाले भने, “मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै पनि देखेको थिइनँ। मैले कसैलाई पनि अत्याउन खोजेको होइन, तर मैले काम गर्दा जे अनुभूति गरिरहेको छु, त्यो भन्दै छु कि अहिले मुलुकको भविष्य ठानिएको तन्नेरी पुस्ता बेस्सरी आत्तिएको छ।”

अहिले तन्नेरीभन्दा पनि प्रधानमन्त्रीले आत्तिनुपर्ने वेला भएको थापाको भनाइ थियो। आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पनि केही समय लिएर सोच्न आग्रह गरेको सुनाए। “अहिले तन्नेरीहरू आत्तिनुपर्ने वेला होइन,” उनले भने, “डराउनुपर्ने, आत्तिनुपर्ने प्रधानमन्त्रीले हो, सरकारले हो।”