यसरी पनि हुँदोरहेछ राष्ट्रपतिको सवारी- न जनतालाई सास्ती, न तामझाम - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

यसरी पनि हुँदोरहेछ राष्ट्रपतिको सवारी- न जनतालाई सास्ती, न तामझाम



काठमाडौँका सडकमा राष्ट्रपति सवारी हुँदा कुटाइसमेत खानुपरेको पीडा भोगेका नागरिकले शनिबार भने फरक अनुभव गरे।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शनिबार यसअघिको परम्परा तोड्दै सडक खाली नगराईकन वसन्तपुरस्थित कुमारी घर पुगेका हुन्।

शीतल निवासबाट राष्ट्रपति निस्किँदा सडक खाली गराई सर्वसाधारणलाई दुःख दिने गरिएकामा आज राष्ट्रपति पौडेलले त्यस्तो अवस्था आउन नदिएका हुन्।

राष्ट्रपति पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरे।

शनिबार अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन्।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किएका थिए। राष्ट्रपतिले कुमारी घरमा चिया पिएको यो पहिलोपल्ट हो। यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन।

यसअघि कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ।