महेश बस्नेतलाई भेट्न निवासमै पुगे बालेन शाह - Himal Post Himal Post
  • १४ आश्विन २०८१, सोमबार
  •      Mon Sep 30 2024
Logo

महेश बस्नेतलाई भेट्न निवासमै पुगे बालेन शाह



काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नेकपा एमाले नेता महेश बस्नेतलाई भेट्न उनकै निवास भक्तपुर पुगेका छन् । मेयर शाहले विकास निर्माणको नाममा भत्काउने र कानुनको समेत ख्याल नगरेको भन्दै बस्नेतले उनका कदमविरुद्ध सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट आलोचना र टिप्पणी गर्दै आएका छन् ।

बस्नेतका टिप्पणीमाथि प्रतिटिप्पणी गर्दै आएका मेयर शाह बुधबार बिहान बस्नेतको निवास गुन्डु पुगेका हुन् । शाहले काठमाडौंको टुकुचा र ठूला भवनका पार्किङ खुल्ला गर्ने क्रममा डोजर चलाउँदा एमाले नेता बस्नेतले उनीविरुद्ध कडा टिप्पणी गरेका थिए । मेयर शाह स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै बस्नेतलगायत नेताहरुले उनलाई सम्हालिएर काम गर्न चेतावनी दिएका थिए ।

शाहले पार्किङ खुल्ला गर्ने क्रममा डोजर लगाउँदा बस्नेतले गरेको टिप्पणीमाथि जवाफ दिँदै ‘नियम पालन सबैले गर्नुपर्छ कमरेड‚ बरु हजुरको घरको नक्सा छ कि छैन’ भनेका थिए । बस्नेत निवासमा खाना खाएर फर्केका शाहले विगतका असमझदारी हटाएर सहकार्य गरेर अघि बढ्न बस्नेतसँग आग्रह गरेका थिए ।

नेता बस्नेतले राम्रा कामहरुमा आफूहरुको सँधै साथ रहने र सहकार्य समेत गर्ने प्रतिबद्धता जनाएको बताए । भक्तपुर पुगेका मेयर शाहले गुण्डु आसपासमा भएका विकास निर्माणका कामको पनि अवलोकन गरेका थिए ।