निर्वाचनको तयारी पुरा : ३ बने मतदान सकिने, साँझ नतिजा - Himal Post Himal Post
  • १४ आश्विन २०८१, सोमबार
  •      Mon Sep 30 2024
Logo

निर्वाचनको तयारी पुरा : ३ बने मतदान सकिने, साँझ नतिजा



फागुन २५ गते बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । ‘निर्वाचनको पूर्ण तयारीमा छौँ । मतपत्र छपाइ सकेर अधिकृतको कार्यालयमा पठाएका छौँ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

कुल ८८२ मतदाताका लागि आयोगले ९९० वटा मतपत्र छपाइ गरेको छ । राष्ट्रपतिको चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले मतदान गर्न पाउने छन् । संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

संसद भवनको ल्होत्से हलमा दुईवटा बुथ राखिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘दुईवटा बुथ रहन्छ । एउटा राष्ट्रियसभा र प्रदेशसभा सदस्यका लागि, अर्को प्रदेशसभा सदस्यको हुन्छ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडलले भने, ‘बुथ बनाउने काम भोलि हुन्छ ।’

उनका अनुसार राष्ट्रपतिका उम्मेदवारको प्रतिनिधि र मतदाताबाहेक अरुलाई मतदान स्थलमा जान दिइने छैन । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले रमेश लेखक र सुवासचन्द्र नेम्वाङले महेश बर्तौलालाई प्रतिनिधि राखेका छन् । सञ्चारकर्मीको हकमा परिचयपत्र भएकालाई जान दिइने छ । चुनावको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिने छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सांसदलाई निर्वाचन अधिकृतको कार्यालयले दिएको प्रमाणपत्र, नागरिकता, मतदाता परिचयपत्र, संसद सचिवालयले दिएको परिचयपत्र, राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक भएमा भोट हाल्न दिइनेछ ।

तीन बजेसम्म मतदान सकेर ४ बजेबाट गणना सुरु गर्ने अधिकृतको कार्यालयको तयारी छ । फागुन २५ गते राति ७ बजे नै मतगणना सकेर राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्ने तयारी अधिकृतको कार्यालयको छ ।