कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छन्- शेखर कोइराला - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छन्- शेखर कोइराला



काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसकै उम्मेदवारले जित्नेमा दुई मत नरहेको बताएका छन्।

मंगलबार प्रेस युनियनको बागमती प्रदेश अधिवेशनलाई चितवनमा सम्बोधन गर्दै उनले कांग्रेसले उम्मेदवारी दिने र जित्ने दोहोर्‍याएका हुन्।

फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचन के हुन्छ भन्ने प्रश्न तपाईंहरुको दिमागमा पनि प्रश्न उठिरहेको होला,’ उनले भने, ‘निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिन्छ। र त्यो उम्मेदवारलाई जिताउने जिम्मेवारी हामी लिन्छौँ। र नेपाली कांग्रेसकै उम्मेदवारले जित्छन् भन्ने कुरामा पनि दुई मत छैन।’

कांग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न नसकिने भएकाले अन्य दलसँग पनि सहकार्य गर्ने उनको भनाइ छ। ‘अब हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले अन्य दलहरुसँग पनि सहमति गरिकन एउटा उम्मेदवार उठाएर जिताउँछौँ भन्ने कुरा तपाईंहरुको माझमा राख्न चाहन्छु,’ उनले भने।

राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्तामा रहेका दलहरुबाट कांग्रेसले भाँजो हाल्न खोज्यो भन्ने कुरा पनि आइरहेको भन्दै उनले आफूहरु सबैभन्दा ठूलो पार्टी भएको स्मरण गराए। ‘हामी प्रतिपक्षमा छौँ। प्रतिपक्षको भूमिका खेल्छौँ। हामी सरकारमा जाँदैनौँ। तर हामी ‘गभर्मेन्ट इन वेटिङ’ पनि हो भन्ने कुरा उहाँहरुले बुझ्न जरुरी छ,’ उनले भने, ‘यो कुरालाई सत्ता पक्षका केही दलहरुले बुझेर बुझ पचाएको जस्तो पनि देखिन्छ।’

गत पुस १० गते एमाले र माओवादी केन्द्र लगायतका दलहरुबीच सत्ता साझेदारी हुँदा राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई सघाउने सहमति भएको बताइन्छ। तर, पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा कांग्रेसले पनि मत दिएपछि माओवादी केन्द्रले कांग्रेसलाई पनि समेट्नुपर्ने धारणा राख्दै आएका छन्। ‘राष्ट्रिय सहमति’को नाममा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने हो कि भन्ने एमालेले आशंका व्यक्त गर्दै आएको छ।