रवि लामिछानेसँग प्रचण्डले मागे दुई दिनको समय - Himal Post Himal Post
  • १४ आश्विन २०८१, सोमबार
  •      Mon Sep 30 2024
Logo

रवि लामिछानेसँग प्रचण्डले मागे दुई दिनको समय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ । सरकार छाड्ने भन्दै बोलाइएको बैठकमा गरिएको छलफलपछि रास्वपाले यस्तो निर्णय गरेको हो ।

रास्वपाको बैठकमा भएको छलफल अनुसार सरकारमा बस्ने वा नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ । बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर यस्तो निर्णय गरेको हो ।

रास्वपाको बैठक चलिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आग्रहअनुसार रास्वपाले दुई दिनपछि निर्णय गर्ने भएको हो ।

बैठकपछि प्रवक्ता मुकुल ढकालले बैठक जारी रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष रवि लामिछानेलाई फोन गरेर २ दिन कुर्न आग्रह गरेकाले कुर्ने निर्णय गरेको बताए ।

‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल गर्‍यौँ । ३९ जना सबैले भनाइ राख्नुभयो । बैठक बसिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रका संयोजक केपी ओलीको फोन आयो । र दुवैले सन्देश पनि पठाउनुभयो । उहाँहरूले दुई दिनको समय माग्नुभयो’, प्रवक्ता ढकालले भने, ‘त्यसलाई ध्यान दिएर २ दिनपछि निर्णय गर्ने सहमति भयो ।’

उनले २ दिनभित्र संयन्त्रको बैठक बसेर सकारात्मक जवाफ नआए जस्तोसुकै निर्णय गर्न सकिने बताए ।