गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको तयारी - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको तयारी



काठमाडौँ- गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल समस्यामा परेका छन्।

रास्वपाका अध्यक्ष रवि लामिछाने सर्वोच्च अदालतको आदेशपछि उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैले आफैसँग राखेका थिए ।

अदालतले लामिछानेको पुरानो नागरिकता निष्क्रिय रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय प्रचण्ड आफैंले राख्न खोजेपछि रास्वपाले गृहमन्त्रालय आफूलाई दिनुपर्ने अडान राखेको छ ।

यता माओवादी पार्टीभित्रबाट माओवादीले नै गृह राख्नुपर्ने दबाब प्रचण्ड माथि परेको छ । तर रास्वपाको दाबीका कारण प्रचण्डलाई समस्या परेको छ ।

रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिइसकेको छ । गृहमन्त्रालय नदिए सरकारबाट बाहिरिने तयारी गरेपछि प्रचण्डमाथि दोहोरो दबाब परेको छ ।

कांग्रेससहितको पाँचदलीय गठबन्धन अचानक तोडेर गत पुस १० मा सातदलीय समर्थनमा प्रधानमन्त्री बनेका दाहालले भोलिपल्टै रास्वपाका सभापति लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएका थिए।

रास्वपाको समर्थनबिना बहुमत पुग्न मुस्किल पर्ने स्थिति रहेको र एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतको दबाब हुनाले प्रचण्डले सुरुमा अडान छाडेका थिए ।