माओवादीले पुस ३ गतेपछि संसदीय दलको नेता चयन गर्ने - Himal Post Himal Post
  • १८ पुष २०८१, बिहीबार
  •      Thu Jan 2 2025
Logo

माओवादीले पुस ३ गतेपछि संसदीय दलको नेता चयन गर्ने



नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ ।

पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ ।

माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गरे ।

निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ ।

संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको उनको भनाइ छ ।

‘पहिला निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र दिएपछि हामी दलको नेता चयन गर्छौं’, उनले भने, ‘दलको नेता चयनलाई लिएर हाम्रो पार्टीभित्र कुनै विमति छैन ।’