रमेश लेखक ‘डेन्जर जोन’मा- एनपी र दिपक ‘फ्याक्टर’ले निरु पाललाई फाइदा
कंचनपुरको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक र एमाले नेतृ निरु पाल प्रतिस्पर्धामा छन् । उम्मेदवार धेरै भएपनि लेखक र पालबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर ३ मा १३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जनमत पार्टीबाट सुशीलादेवी विष्ट, नेमकिपाबाट जानकीदेवी गिरी, हाम्रो नेपाली पार्टीबाट दुर्गादत्त पाण्डे, लोसपाबाट अम्बादत्त तिवारी, मौलिक जरोकिलो पार्टीबाट तिलकप्रसाद जोशी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण लुहार उम्मेदवार छन् ।
लेखकका लागि जित्नैपर्ने दवाव बढेका बेला कांग्रेसबाट बागी बनेका दिपक बहादुर सिंहका कारण लेखकलाई थप अफ्ठ्यारो पर्नसक्ने देखिन्छ । अर्की नेतृ शारदादेवी चन्द पनि स्वतन्त्रका रुपमा प्रतिस्पर्धामा छिन् । मदन दमाई र शुभाषसिंह धामी समेत स्वतन्त्र उम्मेदवार छन् ।
बागी बनेका सिंहले बझांगी समुदायको भोट पाउने धेरैको विश्लेषण छ । कांग्रेस नेता एनपी सांउदको निकटका रुपमा चिनिने सिंहले चुनाव नजितेपनि लेखकको भोट धेरै काट्ने आंकलन गरिन्छ ।
सिंहले चुनाव जित्ने सम्भावना नभएपनि लेखकलाई समस्यामा भने पार्न सक्छन् । कांग्रेसभित्र भने लेखक र अर्का नेता एनपी साउंद समुहको झगडा सहतमा छ ।
यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा कांग्रेसका केन्द्रीय सदस्य लेखक र एमाले पोलिटब्यूरो सदस्य पालबीच नै हुने देखिन्छ । बाम गठबन्धनबाट उम्मेदवार भएर लेखकलाई हराएका दिपकप्रकाश भट्टले यसपटक टिकट पाउन सकेनन् । भट्टसंग चुनाव हारेका लेखक यसअघि दुई पटक सांसद निर्वाचित भइसकेका छन् भने पाल ०६४ को निर्वाचनमा पराजित भएकी थिईन ।
लेखकलाई माओवादी केन्द्र, जनमोर्चा र एकिकृत समाजवादीको समर्थन छ भने पाललाई राप्रपाले सहयोग गरेको छ । दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
कंचनपुर क्षेत्र नम्बर ३ मा पाल र लेखक दुवैले आफुले पदमा हुंदा गरेको विकास निर्माणको कामलाई चुनावको मुख्य एजेण्डा बनाएका छन् ।
राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्ष, संसदको समितिको सभापति र प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार समेत रहेकी पालले सुख्खा बन्दरगाहा, मझगाउँ विमानस्थल, महाकाली करिडोर निर्माण र महाकाली अस्पतालको स्तरोन्नति आफूले गरेको विषयलाई अघि सारेकी छिन् । यसअघि केन्द्रको मन्त्री बनेका लेखकले समेत त्यो काम आफुले गरेको दावी गरिरहेका छन् ।
लेखक प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पाल एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट छिन् । दुवै नेताले चुनाव जिते मन्त्री बन्न सक्ने भन्दै चुनाव प्रभावित गर्ने दाउमा छन् ।
गठबन्धनको साझा उम्मेदवार रहेका लेखकले सहजै चुनाव जित्ने गठबन्धनमा हिसाव भएपनि यो पटक पालले उनलाई कडा टक्कर दिएकी छन् । पालको प्रदेशमा भिमदत्तका पूर्व मेयर सुरेन्द्र विष्ट र अर्को क्षेत्रमा राप्रपाका नेता धर्मराज जोशी चुनावी मैदानमा उत्रिएका छन् । दुवै उम्मेदवार जनमत भएका नेता हुन् । उनिहरुको साथ पाएकी पालले यसपटक जित्ने सक्ने आधार बलियो देखिएको छ ।
लेखकलाई कांग्रेसकै सिंह र चन्द बागि उठेपछि चुनौति थपिएको छ । यो क्षेत्रमा राप्रपासंग ५ हजारभन्दा माथि भोट रहेको देखिन्छ । कांग्रेसभित्र छोटो समयमा लाभको पद पाउनेमा लेखकको स्थान माथि छ । उनले मात्र लगातार टिकट पाएपछि कांग्रेसभित्रै असन्तुष्टि छ । प्रदेश क मा पनि माओवादी केन्द्रबाट टिकेन्द्र भट्ट र एकिकृत समाजवादीका प्रकाश रावल चुनावी मैदानमा मित्रवत प्रतिस्पर्धामा उत्रिएका छन् । ख मा कांग्रेसका बेलबहादुर राना उम्मेदवार छन् । उनि दोधार चांदनी क्षेत्रका नेता हुन् ।
यो क्षेत्रमा गठबन्धनको मत २१ हजार ६७८ मत छ भने एमाले र राप्रपाको १४ हजार २९४ मत छ । मतका हिसावले ८ हजारले अघि भएपनि धेरै स्वतन्त्र उम्मेदवारहरु मैदानमा उत्रिएको र क्षेत्रियता र जातियताले समेत यो क्षेत्रमा प्रभाव पार्ने भएकाले यो मतको खासै अर्थ नराख्ने विश्लेषण भइरहेको छ ।
दुई वटा नगरपालिका र अर्को नगरपालिकाको एक वडा रहेको यो क्षेत्रमा भिमदत्त नगरपालिका कांग्रेसले जितेको छ भने दोधारा चांदनी एमालेले जितेको छ । वेतकोट नगरपालिकाको ८ नम्बर वडा भने एकिकृत समाजवादीले जितेको छ । यो वडामा तिनै पार्टीबीच कडा प्रतिस्पर्धा छ ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्रले राम्रो मत पाएको यो क्षेत्रमा स्वतन्त्र र बागि उम्मेदवारले कति भोट पाउंछन् त्यसमा पाल र लेखकको जित जोडिएको छ ।
कंचनपुरको क्षेत्र नम्बर ३ मा एमालेभन्दा गठबन्धनभित्र चर्को असन्तुष्टि छ । एमालेबाट टिकटका दावेदार रहेका दीपकप्रकाश भट्ट चुनावी मैदानमा खटिएका छन् ।