डा. तोसिमाको उम्मेदवारी खारेज गर्न किन लागिपरेको छ निर्वाचन आयोग ?
निर्वाचन आयोगले ललितपुर ३ की प्रतिनिधिसभा उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्न लागिपरेको छ । आयोगले उम्मेदवारी कायम गर्ने अन्तरिम आदेशविरुद्ध अदालत पुगेको छ ।
आयोगले सर्वाेच्च अदालतमा भ्याकेट निवेदन दिइसकेको छ । भ्याकेट निवेदनमा अदालतको आदेश खारेज गर्न समेत माग गरिएको छ ।
नयाँ पार्टीको उम्मेदवार त्यसमाथि युवाहरू राजनीतिमा लाग्ने चाख देखाएको बेला यस्ता घटना घट्नु नियोजित भएको चर्चा भैरहेका बेला आयोग नै उम्मेवारविरुद्ध अदालत जानुलाई अर्थपूर्ण मानिएको छ ।
अदालतको अन्तरिम आदेशको सूचना शुक्रबार पाएको आयोगले चित्त नबुझेको भन्दै खारेज गरिपाऊँ भनी शुक्रबारै सर्वाेच्चमा भ्याकेट निवेदन दर्ता गराएको हो ।
मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पदभित्र पर्ने ठहर गर्दै १२ कात्तिकमा डा. कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न र उम्मेदवारी कायम गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन १५ कात्तिकमा सर्वाेच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश दिएको थियो ।
आयोगले नियमित तलब भत्ता नभए पनि बैठक र अनुगमन भत्ता पाइने मेडिकल काउन्सिलको पदलाई लाभको पद ठहर गर्दा अदालतले काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने तथा नियमित जिम्मेवारीको पद नभएको, काउन्सिलको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्चजस्ता आर्थिक लाभ नियमित प्रकृतिका नहुने भएकाले नियमित आर्थिक लाभ लिएको मान्न नमिल्ने भनेको छ ।
काउन्सिलको सदस्य पद लाभको हो–होइन भनेर महिनाअघि नै सोधेको निवेदनमा जवाफ नदिएको उल्लेख गरेको छ ।
महेन्द्रबहादुर पाण्डेले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा भएको ‘संविधानले किटानीसाथ कुनै व्यक्तिलाई कुनै कुराका लागि योग्य वा समर्थ घोषित गरेको छ भने त्यस्ता व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष जुनसुकै किसिमबाट कानुनले अयोग्य घोषित गर्न नमिल्ने’ व्याख्याको नजिरसमेत उल्लेख गरिएको आदेशका कारण र आधार चित्त नबुझेको भन्दै आयोगले आदेश खारेज गर्न माग गरेको छ ।