झापा १ मा रोचक बन्दै चुनावी माहोल- शर्मा र खरेलमध्ये जित्लान् चुनाव ?
झापा- झापा क्षेत्र नम्बर १ को निर्वाचन निर्वाचन मात्रै होइन प्रतिष्ठाको लडाईमा परिणत भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलबीच हुने यहाँको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ ।
शर्मा र खरेलमध्य एकले हार्नैपर्ने यो प्रतिस्पर्धा व्यक्ति र पार्टीको विरासतको लडाई बनेको छ । त्यसैले पनि शर्मा र खरेलबीच हुने प्रतिस्पर्धा रोमाञ्चक बनिरहेको छ ।
अहिले शर्मा र खरेल आफ्नो र आफ्नो अस्तित्व र पार्टीको साख जोगाउन छुट्टाछुट्टै चुनावी रणनीति बनाएर मतदाताको घरआगँन पुगेका छन्। झापा-१ शर्माको निर्वाचन क्षेत्र हो । तर खरेलको निर्वाचन क्षेत्र झापा-२ हो।
यस क्षेत्रका लागि खरेल पर्यटक उम्मेदवार हुन् । खरेल पूर्व संविधानसभा सदस्य, पूर्व कानुन मन्त्री र पूर्व महान्यायाधिवक्ता समेत हुन् भने शर्मा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन । शर्मालाई सत्ता गठबन्धनका दलहरूको समर्थन छ भने खरेललाई नेकपा (एमाले), राप्रपा र राप्रपा नेपालको समर्थन छ ।
साबिक झापा-३ र हाल झापा-१ को आम निर्वाचनको तथ्याङ्क केलाउँदा नेकपा (एमाले)ले तीन पटक, नेकपा माओवादीले दुई पटक र कांग्रेसले एक पटक मात्रै जितेको छ । २०४८, २०५१ र २०७० मा एमालेका क्रमशः राधाकृष्ण मैनाली, देवीप्रसाद ओझा र रविन कोइराला निर्वाचित भएका थिए। २०६४ र २०७४ मा माओवादीका क्रमशः धर्मप्रसाद घिमिरे र सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए। त्यस्तै कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङ २०५६ सालमा निर्वाचित भएका थिए।
एमालेको लालकिल्ला मानिएको झापा १ अहिले भने गठबन्धनका लागि सहज क्षेत्र बनेको आंकलन गरिएको छ । यसै क्षेत्रबाट शर्मा तेस्रो पटक उम्मेदवार बनेका छन्। २०७० सालमा पहिलो पटक टिकट पाएका शर्मा एमालेका कोइरालासँग ६८९ मतान्तरले पराजित भएका थिए। शर्माले १६ हजार ५४० मत ल्याएकोमा कोइरालाले १७ हजार २२९ मत ल्याएका थिए। २०७४ सालको आम निर्वाचनमा शर्मा फेरि पराजित भए। शर्मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका कार्कीसँग २ हजार ८६३ मतान्तरले पराजित भए। शर्माले ३३ हजार ३१० मत ल्याउँदा कार्कीले ३६ हजार १७३ मत ल्याएका थिए।
यस पटक भने शर्माकालागी अनुकुल माहोल बनेको कांग्रेसका कार्यकर्ता बताउँछन्। खरेल पछिल्लो समय विवादित पात्र भएकाले पनि उनल्का लागि झापा १ मा अफ्ठ्यारो पर्ने आंकलन गरिएको छ । एकातिर खरेल अध्यक्ष ओलीले गरेका संविधानविरोधी गतिविधिमा सहयोगी रहेको भन्दै आलोचना भैरहेको छ भने अर्कातिर अर्बौं घोटाला गरेका सिभिल काण्डका इच्छाराजा तामाङसँग जोडिएको भन्दै आलोचना भैरहेको छ ।
एमालेका अन्य नेताहरू हुँदाहुँदै उनलाई ओलीको निकट पात्र भएकैले झापा १ बाट टिकट दिइएको भन्दै एमालेमै असन्तुष्टि बढेको छ । खरेलको नाम झापा २ बाट सिफारिस भएको थियो । झापा १ बाट रिवन कोइरालाको नाम एकल सिफारिस गरिएको थियो। तर, ओलीले कोइरालालाई ब्याक गराई खरेललाई झापा १ को टिकट दिए।
एमालेले प्रतिनिधिसभा सदस्यमा टिकट नदिएको भन्दै कोइराला पार्टीको निर्णयप्रति असन्तुष्ट भएका छन्। कोइराला असन्तुष्ट बनेपछि पार्टीभित्र खैलाबैला नै मच्चियो। आन्तरिक रूपमा लेनदेन गरेर कोइराला प्रदेशसभा सदस्यमा उम्मेदवारी दिए र आफ्नो क्षेत्रमा खरेललाई सघाउन तयार भएको बताइन्छ।
त्यतिमात्रै होइन यस क्षेत्रबाट कोइराला उठेको भए चुनावमा यस पटक पनि शर्मालाई सकस हुने कांग्रेस नेताहरू नै स्विकार्छन। कोइराला ‘ब्याक’ गएपछि शर्मालाई झन् सहज भएको आंकलन गरिएको छ ।
कांग्रेसभित्र पनि असन्तुष्टि नभएको भने होइन । कांग्रेसको १४औं महाधिवशेनमा कृष्णप्रसाद सिटौला र शर्मा निकट नेता तथा कार्यकर्ताहरू जिल्ला तहमा छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए। त्यसबेला शर्माको प्यानललाई सिटौलाको प्यानलले नराम्ररी पराजित गरेको थियो। त्यसको असर निर्वाचनमा देखिने र एमालेलाई सहज हुने आंकलन एमाले नेताहरूको छ । सिटौला निकट कार्यकर्ताले उनलाई असहयोग गर्ने एमाले नेताहरू बताउँछन् ।
स्थानीय तह निर्वाचनमा झापा क्षेत्र नम्बर १ को तथ्याङ्क हेर्दा कांग्रेसका वडाध्यक्षहरूलाई २४ हजार ५९ मत आएको छ। एमालेसँग ३१ हजार ८३ मत छ। यस्तै माओवादी केन्द्रसँग ३ हजार ९०५ तथा एकीकृत समाजवादीसँग १ हजार २५२ र लोसपासँग १३२ मत छ अर्थात् गठबन्धनसँग २८ हजार ९६ मत छ।
तर शर्मा यो क्षेत्रमा लोकप्रिय छन् । यहाँका कतिपय एमाले नेताहरू नै खरेललाई नेता मान्न तयार छैनन् । यसको फाइदा उठाउन सकेको खण्डमा शर्माको जित निस्किने छ ।
झापा-१ अन्तर्गत मेचीनगर नगरपालिकाका १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ वडा र भद्रपुर नगरपालिकाका ९ र १० गरी जम्मा २१ वटा वडा पर्छ। जम्मा एक लाख २० हजार ३७५ मतदाता रहेकोमध्ये मेचीनगर ६ मा सबैभन्दा धेरै मतदाता छन।