रुपन्देही २ उम्मेदवार राजु गुरुङले हालेको मुद्दामा सुनुवाई सकियो
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको पक्षमा अन्तरिम आदेश दिन आग्रह गरेका छन् । बहसका क्रममा थापाले अदालतले निर्वाचन लड्न दिनुपर्ने जिकिर गरे ।
शुक्रवार न्यायाधीश हरि फुयालका एकल इजलासमा परेको सो मुद्दामा सुनुवाई हुन सकेको थिएन । आइतवार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा सुनुवाई सकिएको छ ।
गुरुङले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै दायर गरेको रिटमाथि सुनुवाईका क्रममा थापाले संविधान र कानून न्यायाधीशले हेर्ने कुरा हो भन्दै आफूहरुलाई अन्तरिम आदेश दिइनुपर्ने जिकिर गरेका थिए ।
थापाले इजलासमा भने- संविधान र कानूनको कुरा श्रीमानले जान्ने हो । यदि यसमा अन्तरिम हुँदैन भने सर्वोच्च अदालतले हामीलाई चुनाव लड्न दिएन भनेर बाहिर बोल्नुपर्ने हुन्छ, त्यसो नहोस् ।
न्यायाधीश श्रेष्ठले रिट निवेदकको पक्षबाट १५/१६ जना वकिल रहेको भन्दै सोमवार सार्न खोजेका थिए । तर थापासहितले आजै हुनुपर्ने भनेपछि दुई तीन जनालाईमात्र बहस गर्न आग्रह गरे ।
रिट निवेदकको पक्षबाट शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।