केन्द्रको ‘साइड इफेक्ट’- कांग्रेस र माओवादीका मन्त्रीलाई बर्खास्त गर्ने मुख्यमन्त्रीको तयारी
जनकपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई मन्त्रीबाट हटाएलगत्तै मधेस प्रदेशमा समेत मन्त्री हटाउने तयारी भएको छ । मधेश प्रदेश सरकारमा सहभागी कांग्रेस,माओवादी र एकिकृत समाजवादीका मन्त्रीहरुलाई शुक्रबार बिहानसम्म राजीनामा नदिए हटाउने तयारी भएको हो । जसपाका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा नदिए बर्खास्त गर्ने तयारी गरेका छन् ।
जसपाले एमालेसंग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहिवार चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । मधेष प्रदेशका मुख्यमन्त्री राउतले त्यसैको बदलामा मन्त्रीहरुलाई हटाउन लागेका हुन् ।
कांग्रेस,माओवादी र एकीकृत समाजवादीका मन्त्रीले शुक्रबार बिहान सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन् । उनिहरुले मुख्यमन्त्री रावतलाई राजीनामा दिने जानकारी गराइसकेका तन् ।
जसपाको मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिए मुख्यमन्त्रीले पदबाट बर्खास्त गर्ने दावी गरे ।
मधेष प्रदेश सरकारमा कांग्रेसबाट ३ जना, माओवादी केन्द्रबाट राज्यमन्त्री सहित २ र नेकपा एसबाट १ गरी ६ जना मन्त्री रहेका छन् ।