अब गठबन्धनको कमाण्डर रामचन्द्र पौडेल - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

अब गठबन्धनको कमाण्डर रामचन्द्र पौडेल



काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा सत्तारुढ गठबन्धन दलले चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएका छन्।

बिहीबार बसेको गठबन्धन दलको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो। जसका लागि पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति गठन गरिने छ।

प्रदेश र जिल्ला स्तरमा पनि गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ। जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा पालिकामा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्न सक्ने निर्णय गठबन्धनले गरेको छ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारासहित मतदातासम्म पुग्ने निर्णयसमेत गठबन्धनले गरेको छ।

सत्ता गठबन्धनले कात्तिक ४ गते बिहान ११ बजे पोखरा, त्यही दिन दिउँसो २ बजे बुटवल, कात्तिक ५ गते दिउँसो ११ बजे विराटनगर, त्यही दिन दिउँसो २ बजे जनकपुर, कात्तिक ६ गते बिहान ११ बजे धनगढी, कात्तिक ६ गते दिउँसो २ बजे सुर्खेत र कात्तिक ७ गते बिहान काठमाडौंमा भेला आयोजना गर्ने भएको छ।