रुपन्देही ५ मा ट्वीस्ट- खिमलाल भट्टराई बने वासुवेद घिमिरेको चुनावी कमाण्डर
नेकपा एमालेको उम्मेदवार बन्न रुपन्देही ५ मा उम्मेदवारी दिए पनि उम्मेदवार बन्न नपाएका एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईको नेतृत्वमा एमाले रुपन्देही ५ निर्वाचन परिचालन कमिटीको संयोजक बनाइएको छ ।
पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले उनको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
कमिटीको सदस्यमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा विभिन्न कमिटीमा रहेका नेताहरू छन् । यो क्षेत्रमा एमालेबाट दुई जनाको उम्मेदवारी परेको थियो । भट्टराई र वासुवेद घिमिरेको उम्मेदवारी परेकोमा भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।
राष्ट्रियसभा सांसदको कार्यकाल बाँकी रहँदै भट्टराईले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । तर, उनले घिमिरेभन्दा पछि उम्मेदवारी दिँदा पहिला उम्मेदवारी दर्ता गराएका घिमिरेले आधिकारिकता पाएका थिए । भट्टराईले निर्वाचन परिचालन कमिटीको कमान्ड सम्हालिसकेका छन् ।