"ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी भयो एमाले" - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

“ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी भयो एमाले”



नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी त्यागेको घोषणा गरेका छन्। उनी नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन्।

शनिबार सामाजिक सञ्जालमा लामो सन्देश लेखेर उनले पार्टी छोडेको घोषणा गरेका हुन्। उनले केपी शर्मा ओलीको दम्भ र स्वच्छाचारिताभित्र एमाले कैद भएको आरोप पनि लगाएका छन्।

‘म स्वंयले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’ उनले भनेका छन् ‘अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ। नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ।’

भुसालले नवौं अधिवेशनले सिद्धान्त र पार्टीको चरित्रविपरीत नेतृत्व चयन गरेर गल्ती भएको पनि बताएका छन्।

‘देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ। यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो’ उनले भनेका छन् ‘नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उचाइमा लग्यो। तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो। त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो। आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो।’