राप्रपाले भन्यो- एमालेलाई देशभरी सहयोग गर्न सकिन्न
काठमाडौं- नेकपा एमाले जनता समाजवादी पार्टी र राप्रपासँगको निरन्तर छलफलमा रहेपनि कुनै टुङ्गो लाग्न सकेको छैन ।
एमालेका नेताहरुले राप्रपा र जसपाका नेताहरुसँग कुराकानी अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।
तर एमाले अध्यक्ष केपी शर्मा ओेलीले सत्ता गठबन्धनका असन्तुष्टिमाथि खेल्ने रणनीति बनाएका छन् । कुराकानी दुवै दलसँग अन्तिम चरणमा पुगेको बताइए पनि सम्झौतामा हस्ताक्षर भएको छैन ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँगको छलफलपछि राति नै झापा पुगेका छन् । छलफलमा लिङ्देनले देशभरी एमालेलाई सहयोग गर्न नसक्ने बताएको स्रोतको दाबी छ ।
राप्रपाले ०७४ सालको गल्ती नगर्ने भन्दै एमालेसँग केही निर्वाचन क्षेत्रमा मात्रै तालमेलको प्रस्ताव गरेको छ । राप्रपाले राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र, धवलशमशेर जबरा, विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, ध्रुवबहादुर प्रधानलगायतका नेताको निर्वाचन क्षेत्रमा एमालेको सहयोग खोजेको छ ।
जति संख्यामा एमालेलाई सहयोग गर्ने हो त्यति नै संख्यामा आफूहरूले पनि सहयोग माग्ने तर देशभरका निर्वाचन क्षेत्रमा सहयोग गर्न नसकिने अडानमा राप्रपा छ ।
एमाले पनि सबै क्षेत्रमा राप्रपालाई सहयोग गर्न तयार नभएको स्रोत बताउँछ । जनता समाजवादी पार्टीसँग पनि एमालेले लगातार छलफल गरे पनि सम्झौतामा हस्ताक्षर भइसकेको छैन ।
राप्रपा र जसपासँगै जाँदा पनि रुपन्देही, बाँके, काठमाडौंलगायतका निर्वाचन क्षेत्रमा असर पर्ने देखिएको एमाले स्रोतले जनाएको छ ।
बाँकेमा एमालेले इस्तियाक राईलाई सहयोग गर्ने धवलशमशेर जबरालाई भन्नेजस्ता विषयमा कुरा टुंगिइनसकेको एक नेताले जानकारी दिए ।