यी हुन् एमालेबाट टिकट पाउने भाग्यमानी नयाँ अनुहारहरू - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

यी हुन् एमालेबाट टिकट पाउने भाग्यमानी नयाँ अनुहारहरू



नेकपा एमालेले केही नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेपछि चुनावी माहोल थप तातिएको छ।

प्रतिनिधिसभामा नै एमालेले युवा र नया अनुहारलाई मौका दिएको छ ।

ठाकुर गैरे

उनी विद्यार्थी आन्दोलनबाट आएका नेता हुन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष भइसकेका गैरे यसअघिका निर्वाचनमा पनि पाल्पा २ बाट उम्मेदवार बन्न चाहन्थे ।

तर, तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालका सम्धीसमेत रहेका सोमप्रसाद पाण्डेलाई टिकट दिएर उनलाई बन्चित गरिँदैआएको थियो । एमाले विभाजनपछि पाण्डे नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीतर्फ लागेपछि गैरे एकल सिफारिसमा परेका थिए ।

उनी एमालेको आठौ, नवौं र १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भई हाल पोलिटब्यूरो सदस्य छन् ।

सूर्य थापा

पत्रकारिता पृष्ठभूमिका थापा प्युठानबाट प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार भएका छन् । उनी एमाले पोलिटब्यूरो सदस्य छन् ।

संयोग, थापा एमालेमा जहिल्यै संस्थापनका सहयोगी नेता मानिन्छन् । माधव नेपाल महासचिव हुँदा होस् वा झलनाथ खनाल अध्यक्ष हुँदा, उनी ती नेतानिकट थिए ।

खनालपछि वामदेव गौतमसँग नजिकिएका थापा २०७४ को निर्वाचनमा ईश्वर पोखरेलको चुनावी कमाण्ड सम्हाल्न काठमाडौंँ ५ मा सक्रिय भए ।

पोखरेलपछि केपी ओलीनिकट बनेका थापा ओली प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार थिए । त्यसअघि, खनाल प्रधानमन्त्री हुँदा पनि थापा प्रेस सल्लाहकार बनेका थिए । विपक्षीप्रति कडा शब्दमा उत्रिनसक्ने थापाका लागि संसदीय प्रतिस्पर्धाको यो पहिलो अनुभव हुनेछ ।

निरज आचार्य

एमाले केन्द्रीय सदस्य निरज आचार्य जाजरकोटबाट प्रतिनिधिसभा सदस्य उठ्दैछन् । एमालेनिकट युवा संघको महासचिव भइसकेका आचार्य अध्यक्षमा भने महेश बस्नेतसँग पराजित भएका थिए ।

एमालेमा उनी सबैभन्दा कान्छो उमेरमै जिविस सदस्यका रुपमा जनप्रतिनिधि बनेका नेताका रुपमा परिचित छन् । तत्कालीन नेकपाभित्र १० बुँदे सहमतिपछि एकताको पक्षमा उभिएका नेताहरुको सूचीमा उनी पनि पर्छन् । आचार्य पनि संसदीय प्रतिस्पर्धामा नयाँ अनुहार हुन् ।

सर्वेन्द्र खनाल

एमालेले नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई काठमाडौँ ६ बाट प्रतिनिधिसभा सदस्य उठाएको छ । सेवा निवृत्त भएदेखि नै एमाले नेतानिकट रहे पनि केही साताअघि मात्र उनी औपचारिक रुपमा पार्टी प्रवेश गरेका थिए ।

अघिल्लो निर्वाचनमा ललितपुर १ बाट पूर्वप्रहरी अधिकारी नवराज सिलवाललाई उम्मेदवार बनाई जिताएको एमालेले यसपटक खनाललाई अघि बढाएको हो । उनी महेश बस्नेत, किसन श्रेष्ठसहित तत्कालीन संघीय समाजवादी पार्टीका सांसदलाई जनकपुरबाट अपहरणको शैलीमा काठमाडौँ ल्याएको विवादमा मुछिएका थिए ।

सूर्य ढकाल

एमालेले युवा संघका पूर्वउपाध्यक्ष सूर्य ढकाललाई बाँके १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उठाएको छ । एमाले केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज रहेका ढकाल महेश बस्नेत अध्यक्ष हुँदा युवासंघका उपाध्यक्ष थिए । त्यतिबेला उनी बस्नेतको विपक्षमा थिए ।

नेकपाकालीन अन्तरसंघर्षमा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूह एकातर्फ लाग्दा बाँकेमा ओली समूहको संगठन जोगाएको जस उनलाई जान्छ । ढकालका लागि पनि यो नै संसदीय प्रतिस्पर्धाको पहिलो अनुभव हो ।

ऐन महर

अनेरास्ववियुका अध्यक्ष भइसकेका ऐन महरलाई एमालेले बझाङबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार उठाउँदैछ । उनी पनि विद्यार्थी आन्दोलनबाट सिधै संसदीय प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

कोमल ओली

गायिका कोमल ओली प्रत्येक्ष राजनीतिमा आएको एक दशक पनि भएको छैन । सुरुमा राप्रपाबाट राजनीति थालेकी उनी एमालेबाट राष्टियसभा सदस्य भईसकेकी नेतृ हुन् । उनलाई एमालेले यसपटक दाङ ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार उठाएको छ ।

सो क्षेत्रबाट तुलसीपुर उपमहानगरका निवर्तमान मेयर घनश्याम पाण्डे पनि आकांक्षी थिए । तर, उनलाई प्रदेशसभा सदस्य उम्मेदवारमा रोकेर ओलीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन लागेको हो ।