कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा जारी, सूची सच्याउन देउवा तयार - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा जारी, सूची सच्याउन देउवा तयार



काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ। बैठक अहिले बालुवाटारमा जारी रहेको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी दिए। सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठक विहान ८ बजे सुरु भएको छ।

बैठकमा समानुपातिक बन्दसूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम तथा गठबन्धनभित्र भइरहेको छलफलको विषय प्राथामिकतामा राखिएको छ। समानुपातिकको बन्दसूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ।

यसअघि मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। त्यस क्रममा पार्टीमा देखिएको विवादको विषयमा छलफल भएको बताइएको छ।

आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयलाई लिएर पछिल्लो समय नेपाली कांग्रेसभित्र विवाद बढ्दै गरेको छ।

शेखर कोइराला पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन्। शेखर समूहका नेताहरुले आज पार्टी कार्यालयमा धर्ना दिने भएका छन्। यो समूहले सिट बाँडफाँडमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ।