अत्तरिया राजधानी स्वीकार्न नसक्ने बलायरलाई जनताले स्वीकार्लान्? - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

अत्तरिया राजधानी स्वीकार्न नसक्ने बलायरलाई जनताले स्वीकार्लान्?



डोटी- कांग्रेस नेता बीरबहादुर बलायर पछिल्लो समय एक पछि अर्को विवादमा मुछिँदै गएका छन्। आफ्नै अभिव्यक्तिका कारण उनी बेला-बेला विवादमा मुछिने गरेका हुन्।

कांग्रेस डोटीका नेता सिताराम ओझालाई फोन गरेर ज्यान लिने धम्कि दिएका कारण उनको विरोध भइरहेको छ। यसका साथै डोटी छोडेर कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधि सभाका लागि चुनाव लड्ने चर्चालेसमेत उनीमाथि विभिन्न टिकाटिप्पणी हुनथालेका छन्।

केही दिन पहिलेमात्रै बलायरले अत्तरियामा राजधानी हुनै नसक्ने अभिव्यक्ति दिएका थिए। अहिले जुन क्षेत्रको उनले विरोध गरेका थिए त्यही क्षेत्रबाट चुनाव लड्ने आकांक्षा राखेपछि विभिन्न टिकाटिप्पणी भइरहेको हो।

केही दिन पहिले बलायरले डोटीमा पत्रकार सम्मेलन गर्दै भनेका थिए, ‘सुदूरपश्चिमको राजधानी अहिले धनगढीमा डेरामा छ। अहिलेको सरकारले गोदावरी बनाएको छ। गोदावरी कुनै हालतले पनि बन्न सक्दैन। अहिले राजधानी आकासमा छ। कसले टिप्ने भन्ने कुरा छ।’

गोदावरी राजधानी लैजाने नेतृत्व को हो? भन्दै उनले प्रश्न गरेका छन्। डोटीका मानीयले मात्रै मतदान नगरेको भए गोदावरीमा राजधानी नजाने उनको जिकिर छ। आफ्नो पार्टीको भरत बहादुर खड्का रहेको र उनले भोट नहालेको उनले बताए।

डोटीका एक नेता भने बहालवाला मन्त्री रहेको बेला काम गर्न नसक्ने बलायरले अहिले चुनावको मुखमा जनतालाई भ्रममा राख्न पत्रकार सम्मेलन गरेर मिठा कुरा गरिरहेको आरोप लगाए।

उता अत्तरियाका एक नेता पनि अत्तरियाविरुद्ध अभिव्यक्ति दिने व्यक्तिलाई स्वीकार्न गाह्रो हुने बताउँछन्। ‘उहाँले अत्तरिया राजधानी स्वीकार्नु हुँदैन। पत्रकारसम्मेलन गरेरै उहाँले त्यो भनिसक्नु भएको छ। अत्तरिया राजधानी स्वीकार्न नसक्ने व्यक्तिले चुनाव लड्न यही क्षेत्र किन रोज्नु। हिम्मत भए डोटीबाट लडेर देखाउनु पर्‍यो नी। उहाँ त कांग्रेसको प्रदेश सभापति पनि हुनुहुन्छ। त्यत्रो पावरफूल व्यक्ति डोटीबाट भाग्ने अवस्था कसरी सिर्जना हुँदैछ,’ ती नेताले भने।