भीम उपाध्याय, बालेन शाह र रवी लामिछानेमाथि किन खनिए महेश बस्नेत ? - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

भीम उपाध्याय, बालेन शाह र रवी लामिछानेमाथि किन खनिए महेश बस्नेत ?



काठमाडौं- नेकपा (एमाले)का नेता महेश बस्नेत पछिल्लो समय चर्चा र विवादमा छन् । भीम उपाध्यायदेखि बालेनसम्मलाई तथानाम बोलेर उनी अहिले भाइरल बने ।

उनले सामाजिक सञ्जालको दुरूपयोग गरी युवाहरूमा भ्रम छर्ने काम भइरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय युवा संघको प्रचार भेलामा नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग गरी विभिन्न समूहले युवाहरूमा भ्रम छरेको बताएका हुन् ।

उनले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताए । पछिल्लो समय युवाहरूमा देखिएको निराशालाई युवा संघले समयमा समाल्न नसके विदेश पलायन वा विकृतिमा लाग्ने उनले बताए ।

उनले सामाजिक सञ्जालको दुरूपयोग गरेर माओवादी, वाईसीएल, कांग्रेस, नेविसंघलगायतले भ्रम छरेको आरोप लगाए । नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैल्याउन पार्टीका नेता कार्यकतालाई समाप्त पार्नेगरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरू उत्पादन गर्न विभिन्न समूह लागेको बताए । त्यसका लागि अन्तर्राष्ट्रिय मिसनहरूसमेत परिचालित भएको उनको दाबी छ ।

“अहिले सामाजिक सञ्जालमार्फत प्रकट भइरहेका अपराधिक गतिविधिहरूमा अराजक समूहहरूले यो समूहलाई पहिचान गरिरहेको छ । अराजक समूह अहिले भौतिक रूपमा वा साइबरमार्फत माओवादी, वाईसीएल, कांग्रेस, नेविसंघ, भीम उपध्याय भएर, खगेन्द्र संग्रौला, बालेन शाहहरू भएर र रवि लामिछानेहरू भएर विभिन्न रङ्गीचङ्गी कुराहरू बोकेर प्रकट हुन्छ,” उनले भने ।

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमालेमाथि जथाभाबी आक्रमण भइरहेको बताए । उनले सामाजिक सञ्चाल र साइबरमार्फत एउटा कोठामा बसेर एमालेलाई गरेको आक्रमण गरेको बताए ।

नेता बस्नेतले आफूलाई नक्कली आईडीमार्फत आठ हजार १०० जनाले गाली गरेको पनि बताए । नक्कली आईडी बनाएर गाली गर्नेहरूलाई राम्रो सम्बोधन गर्न नसकिने उनको भनाइ छ ।