एमालेले 'पार्टी प्रवेश महोत्सव' मनाउने- एक लाख कटे प्रवेश गर्नेहरू - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

एमालेले ‘पार्टी प्रवेश महोत्सव’ मनाउने- एक लाख कटे प्रवेश गर्नेहरू



काठमाडौं– अहिले नेकपा एमालेमा प्रवेश गर्ने लहर नै चलेको छ । पार्टी प्रवेशको संख्या १ लाख पार गरेको भन्दै नेकपा एमालेले शनिबार काठमाडौं र मधेस प्रदेशको राजधानी जनकपुरमा ‘पार्टी प्रवेश महोत्सव’ गर्ने भएको छ ।

धनुषामा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं लोसपा सचेतक उमाशंकर अरगरियालाई पार्टीमा भित्र्याउँदैछन्।

यसअघि पनि प्रतिनिधि सभाका तीन निवर्तमान सदस्यहरु एमालेमा प्रवेश गरिसकेका छन्। हृदयेश त्रिपाठीको ‘स्वतन्त्र समूह’बाट सांसद वृजेशकुमार गुप्ता, जसपाका सांसदद्वय अमृता अग्रहरी र रुही नाज एमाले प्रवेश गरिसकेका छन्।

प्रतिनिधि सभाका निवर्तमान सांसदमध्ये वृजेशकुमार गुप्ता २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर स्वतन्त्रबाट कपिलवस्तु- २ बाट निर्वाचित भएका हुन्।

यसैगरी, जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य रहेकी अमृता अग्रहरी समानुपातिकबाट प्रतिनिधि सभाका सदस्य थिइन् भने रुही नाज पनि समानुपातिकबाटै सांसद थिइन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभाका सांसद प्रल्हाद गिरी पनि एमाले प्रवेश गरेका छन्।

‘त्रिपाठी समूह’बाट लुम्बिनी प्रदेश सांसदमा कपिलवस्तु- २ ‘ख’बाट जितेका धर्मबहादुर लाल श्रीवास्तव पनि एमालेमै मिसिएका छन्। जसपाकी मधेस प्रदेश सांसद डा रिना यादव केही समयअघि एमालेमा प्रवेश गरिन्। प्रदेश विकास संसदीय समिति सभापति भइसकी उनी तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन्।

जसपाकै लुम्बिनी प्रदेश सांसद विजयबहादुर यादव पनि एमाले प्रवेश गरेका छन्।

प्रभावशाली नेताहरुमा जसपाका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता सबैभन्दा पहिले एमालेमा पुगेका थिए।

त्यसपछि जसपाबाटै तत्कालीन वीरगञ्जका महानगरका मेयर विजय सरावगी, जसपाका नेता पशुपति दयाल मिश्र, रामकुमार दीक्षित, पूर्वमन्त्री खोभारी राय, संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्र कुमार झा, लोसपाका केन्द्रीय सदस्य डा रामबाबु तिवारी र अजय कुमार गुप्ता, माओवादी केन्द्रका नेता तथा पूर्वराज्यमन्त्री रामसिंह यादव र कांग्रेसका पूर्वजिल्ला उपसभापति दिनानाथ साहलगायात एमालेमा प्रवेश गरिसकेका छन्।