विवादास्पद नेतालाई पार्टी प्रवेध गराएर उत्सव मनाउँदै एमाले - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

विवादास्पद नेतालाई पार्टी प्रवेध गराएर उत्सव मनाउँदै एमाले



काठमाडौं– विवादास्पद छबी भएका पूर्व राज्यमन्त्री एवं जनता समाजवादी पार्टीका नेता खोभारी रायलाई नेकपा एमालेले पार्टीमा स्वागत गरेको छ ।

स्यम्भु गोली काण्ड र जुवाखालबाट पक्राउ परेर चर्चा र विवादमा आएका राय अहिले भने एमालेमा प्रवेश गरेका छन् । उनले आफ्नै श्रीमतीलाई सर्लाहीबाट प्रदेश सभाको उम्मेदवार बनाउने सहमति सहित पार्टी प्रवेश गरेको खुलेको छ ।

०५१ मा राप्रपाबाट सर्लाही ५ बाट निर्वाचित खोभारी राय २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकार र २०५३ सालमा राप्रपाका लोकेन्द्रबहादुर चन्दको सरकारमा राज्यमन्त्री भएका थिए।

उनी २०६४ सालमा सद्भावना पार्टी प्रवेश गर्दै निर्वाचनमा भाग लिएर सर्लाही क्षेत्र नम्बर ५ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए।

२०७४ सालमा उनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। त्यसपछि माओवादी छाडेर जनता समाजवादी पार्टीमा प्रवेश गरेर निर्वाचनमा भाग लिएका थिए। यस पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिरहँदा उनी एमाले प्रवेश गरेका हुन्।

मधेसमा आफ्नो उपस्थिति बलियो बनाउन एमालेले पछिल्लो समय मधेस पृष्ठभूमिका नेताहरुलाई प्राथमिकताका साथ पार्टी प्रवेश गराउँदै आएको छ।

सोमबार जसपाबाट नेकपा एमालेमा रायसहित सुनितादेवी यादव, धिरेन्द्र राय, राजमोहन राय र रामप्रवेश राय प्रवेश गरेका छन्।