मानव अधिकार आयोगले भन्यो- जबरालाई कुनै अवरोध नगर्नु - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मानव अधिकार आयोगले भन्यो- जबरालाई कुनै अवरोध नगर्नु



राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आवतजावतमा अवरोध नगर्न आग्रह गरेको छ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी महाअभियोग प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगको टोलीले आइतबार जबराको निवासमा पुगेर पछिल्लो अवस्थाबारे जानकारी लिएको थियो।

प्रतिनिधि सभाको समायवधि सकिएपछि जबराले आज सर्वोच्च अदालत जाने तयारी गरेका थिए। उनलाई सुरक्षाकर्मीले घर बाहिर निस्कन नदिएको आयोगले जनाएको छ।

“सर्वोच्चमा वहाली गर्न जाने तयारी गर्दा निजलाई सुरक्षाकर्मीले विना कारण निवासबाटै बाहिर निस्कन नदिएको जानकारी प्राप्त भएको छ,” आयोगले भनेको छ, “जबराको निवासमा आवतजावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारी साधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोली समेत हटाइएको पाइएको छ।”

त्यहाँ खटिएका सुरक्षाकर्मीलाई बुझ्दा माथिको आदेशमा जबरालाई बाहिर निस्कन नदिएको भन्ने बुझिएको आयोगको भनाइ छ। यसले वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार हनन भएको आयोगको ठहर छ।

“संविधान प्रवत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ। यस प्रकारको अधिकारहरूको कुनै पनि वहानामा अवरोध पुग्नुहुँदैन भन्नेमा आयोग दृढ छ,” विज्ञप्तिमा भनिएको छ, “संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोधको अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।”