चोलेन्द्रलाई गठबन्धनले सफाई दिएको ओलीको आरोप - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

चोलेन्द्रलाई गठबन्धनले सफाई दिएको ओलीको आरोप



काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव समाप्त भएको बताएका छन्।

प्रतिनिधि सभाको कार्यकाल भरी महाअभियोग निश्क्रिय राखेर सत्तारुढ दलले नै जबरालाई सफाई दिएको अध्यक्ष ओलीको भनाइ छ।

“हिजो संसद्को अधिवेशन सकियो र संसद्को कार्यकालै सकियो, महाअभियोग पारित भएन। दर्ता भयो र पारित भएन भनेपछि कुरा सकियो, त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो,” बालकोटस्थित निवासमा आइतबार साँझ सञ्चारकर्मीसँग ओलीले भने, “आफै बिलम्ब गरेर, प्रक्रिया अगाडि नबढाएर सफाइ दियो।”

पूर्व प्रधानमन्त्री ओलीले महाअभियोग प्रकरणमा सभामुख अग्नि सापकोटाले सत्तारुढ दलको इसारामा काम गरेको आरोप लगाए। उनले भने, “षडयन्त्रपूर्ण ढंगले २०७८ पागुन १ मा दर्ता भएको प्रस्तावलाई २०७९ भदौ १ गतेसम्म सभामुखज्यूले आफ्नो घर्रामा राख्नुभयो। कारबाही अगाडि नै बढ्न दिनुभएन।”

सत्तारुढ दलका ९८ जना सांसदले गत फागुन १ गते जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन्।

प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिश समितिले असोज १ गते महाअभियोग लगाउन सिफारिश गरेको छ। त्यसमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले फरक मत राखेका छन्। प्रतिनिधि सभाको समायावधि असोज १ गते नै सकिएको छ।