प्रचण्ड र कमल थापाबीच जुहारी
राप्रपा नेपालका अध्यक्ष कमल थापा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच जुहारी चलेको छ ।
प्रचण्डले सनातन धर्म संस्कृति र तेत्तिस कोटि देवताप्रति वितृष्णा र व्यङ्ग्य गरेको भन्दै थापाले आपत्ति जनाएका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै थापाले सनातन धर्म संस्कृति र तेत्तिस कोटि देवताप्रति वितृष्णा र व्यङ्ग्य गर्नु सर्वथा उपयुक्त नरहेको उल्लेख गरेका हुन् । ‘मान्छेको पुजा गर्न, जनताको हितमा काम गर्न कसैले रोकेको छैन् । भगवानप्रतिको आस्था र विश्वासले जनहितमा काम गर्न, राष्ट्रनिर्माण गर्न बाधा खडा गरेको छैन् । थापाले लेखेका छन्, पूर्वप्रधानमन्त्री भइसकेको प्रचण्डले सनातन धर्म संस्कृति र तेत्तिस कोटि देवताप्रति वितृष्णा र व्यङ्ग्य गर्नु सर्वथा उपयुक्त होइन ।’
शनिबार बिहान पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागले गरेको कार्यक्रम सम्बोधन गर्दै प्रचण्डले मानव जातिको उन्मुक्तिको महाअभियान विज्ञानबाटै भएको दाबी गर्दै धर्म संस्कृति र तेत्तिस कोटि देवताप्रति व्यङ्ग्य गरेका थिए । धर्मको विरोध गर्याे नभन्नु चुनाव आउँदैछ, प्रचण्डले भनेका थिए, हामी कहाँ ३३ कोटी देवता हुन्छन्, मान्छेलाई लात्तले हान्दै हिँड्ने, ढुंगालाई पूजा गरेर हिँड्ने छ संस्कार छ । मैले अपमान नगरी भनेको मान्छेलाई, गरिबलाई पूजा गर्दै हिँडे कति राम्रो हुन्थ्यो । उनीहरुलाई राहत दिने कुरा गरे कति राम्रो हुन्थ्यो, हाम्रो समाजमा राम्रो डिभेट गर्नुपर्ने विषय छ ।’