सरकारले फिर्ता लियो विधेयक
काठमाडौँ- सरकारले राष्ट्रिय सभामा विचाराधीन ‘विद्युत् विधेयक, २०७७’ फिर्ता लिएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले सर्वसम्मतिले पारित सो प्रस्ताव फिर्ता भएको घोषणा गरे ।
उनले भने, ‘माननीय सदस्यहरू, नेपालको संविधानको धारा ११२ र राष्ट्रिय सभा नियमावली २०७५ को नियम ११६ बमोजिम अब म माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक २०७७ फिर्ता गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु ।’
राष्ट्रिय सभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १० बजेर ५९ मिनेटमा बस्नेगरी बोलाइएको छ ।