हजारौँ कार्यकर्तासहित लोसपाका भेट्रान नेता एमालेमा, ओलीले स्वागत गर्ने - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

हजारौँ कार्यकर्तासहित लोसपाका भेट्रान नेता एमालेमा, ओलीले स्वागत गर्ने



काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका भेट्रान नेता मानिने उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्न लागेपछि लोसपालाई ठूलो झट्का लाग्ने भएको छ ।

लोसपाका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा सचेतक रहेका उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएपछि धनुषामा लोसपाको नाम निशान मेटिने नेताहरू बताउँछन्।

अरगरियालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली नै धनुषा जाने तय भएको छ । अरगरिया निकै राम्रो पकड भएका नेता मानिन्छन । भव्य कार्यक्रमका बीच उनलाई पार्टी प्रवेश गराउन असोज ८ गते अरगरियाको क्षेत्र धनुषा-२ मा ओली जाने भएका हुन् ।

अरगरियाले आफूसँगै लोसपाको ठूलो तप्का एमाले प्रवेश गर्न लागेको उनले पुष्टि गरिसकेका छन् । भर्खरै नयाँ दलका रूपमा अभ्यास गरिरहेको लोसपाका हस्ती नै एमालेमा जाने भएपछि उनलाई रोक्न महन्थ ठाकुर र राजेन्द्र महतो लागिपरेका छन् ।

२०७४ को निर्वाचनमा अरगरिया धनुषा-२ बाट तत्कालीन संघीय समाजवादी फोरमबाट जितेका अरगरियाले प्रतिस्पर्धीको भन्दा करिब दोब्बर मत ल्याएका थिए । त्यतिबेला उनले ३२ हजार ४४ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामचन्द्र झाले भने १८ हजार ७१५ मत पाएका थिए।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी गठन भएको थियो। सो पार्टीले राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी गठन भएको थियो।

जसपा विभाजनका बेलामा भने उनी उपेन्द्र यादव नेतृत्वको पार्टी नलागी महन्थ ठाकुर नेतृत्वको पार्टी लोसपातिर लागेका थिए।
लोसपाबाट धनुषा-२ बाटै उम्मेदवार बन्न एकल सिफारिस भएका अरगरिया एमाले प्रवेश गर्न लागेपछि धनुषाको चुनावी माहोल फेरिएको छ । उनीसँगै हजारौँ कार्यकर्ता एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।