सहमति भएन, गठबन्धनको बैठक तत्काललाई स्थगित - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

सहमति भएन, गठबन्धनको बैठक तत्काललाई स्थगित



काठमाडौं- सत्तारूढ पाँचदलीय गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सिट बाँडफाँटमा सहमति गराउन बनाएको ११ सदस्यीय कार्यदलको बैठक एक हप्ता नबस्ने भएको छ।

समानुपातिकको नाम बुझाउन तयारीमा जुट्नुपर्ने भएकोले एक हप्ता बैठक स्थगित गरेको जसपा नेता तथा कार्यदल सदस्य रामसहाय प्रसाद यादवले जानकारी दिए।

निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक तर्फको बन्द सूचीमा नाम बुझाउन दलहरूलाई समय दिएको छ।

‘समानुपातिकको लिस्ट बुझाउन तयारीमा जुट्नुपर्ने भएकाले अब एक हप्ता कार्यदल बैठक नबस्ने निर्णय भयो’ उनले भने, ‘समानुपातिक सूची बुझाएपछि अनि कार्यदल बैठक बस्छ।’

मंगलबार पनि शीर्ष नेतासहित कार्यदलको बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा बसेको बैठकमा सिट बाँडफाँटमा नमिलेको क्षेत्र मिलाउने प्रयास गरिएको यादवले बताए।

‘सहमति हुँदै गएको छ, तर सबै एकैपटक नमिली सहमति घोषणा हुँदैन, फाइनल मिलाएर सहमति हुन्छ, नत्र मिल्यो भनेर अर्थ रहँदैन’​ यादवले थपे।

उनका अनुसार यो एक हप्ताको अवधिमा शीर्ष नेता बैठक बसेर सहमति जुटाउने निर्णय भएको छ। ‘कार्यदलले समानुपातिक लिस्ट बुझाएपछि सहमतिको ड्राफ्ट बनाउँछ, यो बिचमा शीर्ष नेताहरु सहमति गराउन र नमिलेको मिलाउन लाग्नुहुन्छ’ उनले थपे।