यो संसदबाट चोलेन्द्रको महाअभियोग पास नहुने, अब के हुन्छ ?
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कतिपय आरोपमा गल्ती स्वीकार गरेको बताएका छन् ।
“निलम्बित प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाइयो, उहाँले गरेका गल्तीहरू के हो भनेर हामीले उहाँसँग बुझ्यौँ । बुझ्ने क्रममा धेरै विषयहरूमा उहाँले गल्ती स्वीकारेको देखिन्छ,” उनले भने ।
समितिमा मंगलबार पनि जबरासित बयान लिइएको छ । बयानपछि सम्पूर्ण विषयलाई समेटेर प्रतिवेदन तयार गरिने सांसद विश्वकर्माले बताए ।
जबराले बयानका क्रममा मुछेका व्यक्तिहरूसित पनि बयान लिइने उनले जानकारी दिए । त्यसपछि प्रतिवेदन तयार गरी संसद्मा दर्ता गराइने उनले बताए ।
प्रतिवेदन तयार भए पनि महाअभियोग प्रस्ताव पारित हुनका लागि प्रतिनिधिसभाको दुईतिहाइ मत चाहिने उनले उल्लेख गरे । “महाअभियोगको विषयमा प्रमुख प्रतिपक्षलाई विश्वासमा लिनको लागि सत्तापक्षले प्रयास गरिरहेको छ । तर, दलहरूबीच सहमति भइसकेको छैन,” उनले भने, “त्यसैले अहिले नै महाअभियोग प्रस्ताव पास हुन सक्ने भन्न सकिँदैन ।”
उनले संसद्मा दर्ता भएपछि प्रतिवेदन संसद्को सम्पत्ति हुने बताए । वर्तमान संसद्को कार्यकाल समाप्त भए पनि प्रतिवेदनका आधारमा अर्को संसद्ले कारबाही अघि बढाउन सक्ने उनको भनाइ छ ।
“यो संसद्को कार्यकाल समाप्त भए पनि दर्ता भएको प्रतिवेदनको आधारमा आउने संसद्ले यसमा कारबाही अगाडि बढाउन सक्छ,” उनले भने ।