आजको मौसम- चट्याङसहित भारी वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौं- देशका विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ ।
यसैबीच, गएराति गोरखाको गोरखा बजारलगायत गोरखा र लमजुङका धेरै स्थानमा भारी वर्षा भएको छ । चेपे नदी, दरौदी नदीका स–साना सहायक नदीमा आकस्मिक बाढी आएको छ ।