संकटमा परेपछि कमल थापालाई बोलाएर राष्ट्रपतिले गरिन् घनिभूत छलफल - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

संकटमा परेपछि कमल थापालाई बोलाएर राष्ट्रपतिले गरिन् घनिभूत छलफल



काठमाडौं- नागरिकता विधेयकका कारण धर्मसंकटमा परेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोलाएर छलफल गरेकी छन् ।

सरकारले दोस्रोपटक विधेयक प्रमाणीकरणका लागि पठाएपछि संकटमा परेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरू, सुरक्षाकर्मी लगायत कानुन विज्ञहरूसँग परामर्श गरिरहेकी छन् ।

यसै क्रममा सोमबार राप्रपा त्यागेर राप्रपा नेपालका अध्यक्ष बनेका कमल थापालाई बोलाएर छलफल गरेकी हुन् । राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार भएको भेटघाटका क्रममा मुलुकको समसामयिक बिषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका थिए।

नागरिकता विधेयक फिर्ता गरेको भन्दै थापाले भण्डारीको कदमको प्रशंशा गर्दै आएका छन्। नागरिकता विधेयककै विषयमा उनीहरूबीच छलफल भएको स्रोतको दाबी छ।

यद्यपि दुवै पक्षले भेटमा भएका कुराकानीको विषय सार्वजनिक गरेका छैनन्। तर विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने भन्दै आवाज उठिरहेका बेला कमल थापाले भने राष्ट्रपति भण्डारीको बचाउ गर्दै आएका छन् ।

विधेयक फिर्ता गरेपछि भण्डारीले नेताहरूलाई शीतलनिवास बोलाएर घनिभूत छलफल गरिरहेकी छन्।