गठबन्धन डेढ महीनादेखि छलफलमा- फुकेन सहमतिको गाँठो
सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले साढे ६ घण्टा छलफल गरे पनि सीट बाँडफाँडमा सहमति जुटाउन सकेका छैनन्।
गठबन्धनका पाँच दलले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेसँगै सीट बाँडफाँडमा छलफल गर्दै आएका छन्। झण्डै डेढ महीनादेखि विभिन्न चरणमा छलफल गर्दै आए पनि सहमति भने जुट्न सकेको छैन।
कहाँ अल्झिएको छ गठबन्धनको सहमति? सीट बाँडफाँड गर्न गठन गरिएको गठबन्धन कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, “एउटै सीटमा दुई तथा तीन दलले दाबी गरेकाले सहमति जुट्न सकेको छैन।”
गठबन्धनले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० सीट बाँडफाँड गर्न गृहकार्य गरिरहेको छ। यसका लागि गत साउन २० गते कार्यदल गठन गरेको थियो। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको ११ सदस्यीय कार्यदलले एक महीना लगाएर प्रतिवेदन बनाएको थियो। त्यसमा पनि सहमति जुटेको थिएन।
गठबन्धन कार्यदलले सहमति विनाकै प्रतिवेदन शीर्ष नेतालाई बुझाएको थियो। त्यहि प्रतिवेदनमाथि एक सातादेखि गठबन्धनका शीर्ष नेता छलफल गरिरहेका छन्।
सोमबारको साढे ६ घण्टे बैठकमा पनि प्रतिवेदनमाथि नै छलफल भएको बैठकमा सहभागी मन्त्री कार्कीले बताए। “दुई पक्षीय, त्रिपक्षीय र सामूहिक छलफल भएको छ, तर निर्णय गरिहाल्न सकेको अवस्था छैन,” बैठकपछि कार्कीले भने।
गठबन्धनका दलहरू निर्वाचन क्षेत्र केन्द्रित भएर छलफल गरिरहेका छन्। कार्यदलका सदस्य मन्त्री कार्कीका अनुसार ९० सीटमा विवाद छैन। बाँकी ७५ सीटमा दुई तथा तीन दलले दाबी गरेका छन्। जसले गर्दा आज दुई पक्षीय र त्रिपक्षीय छलफल पनि भएको उनको भनाइ छ।
“एउटै सीटमा दुई-तीन पार्टीको दाबी छ,,” कार्कीले भने, “दलहरूको आ-आफ्नो अडान छ। सबै आ-आफ्नो अडानमा कायम रहँदा सहमति बन्न सकेको छैन, सहमतिको नजिक छौं।”
प्रतिनिधि सभाका १६५ सीटमध्ये नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीटमा दाबी गरेका छन्।