प्रहरी भन्छ- सन्दीप लामिछाने कहाँबाट नेपाल छिर्छन् 'कन्फर्म' छैन - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

प्रहरी भन्छ- सन्दीप लामिछाने कहाँबाट नेपाल छिर्छन् ‘कन्फर्म’ छैन



क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई प्रहरीले कालो सूचीमा राखेको हो ।

नेपाल आउनासाथ उनलाई पक्राउ गर्ने गरी कालो सूचीमा राखेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ।

लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ।

भदौ ६ गते उनी केन्यामा हुने टी-२० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए।

क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि खेल्न पाएनन्।

गत शुक्रबार उनले फेसबुकमार्फत आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए। उनले आफूमाथि लागेको आरोपको सामना गर्ने र निर्दोष भएको बताएका थिए।

लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन।

उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरिने पनि प्रहरीको भनाइ छ।