प्रचण्ड निवासमा राजदूतहरूको ‘म्याराथन’ दौड- र’अ प्रमुख बोकेर किन पुगे श्रीवास्तव ?
काठमाडौं- देश चुनावमय भएको बेला खुमलटारमा भने शक्ति राष्ट्रका राजदूतहरूको म्याराथन दौड चलेको छ । एका बिहानै चीनकी राजदूत होउ यान्छी नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेको साता नपुग्दै भारतीय राजदूत खुमलटार पुगेका छन् ।
रोचक त के छ भने नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले भारतीय गूप्तचर संस्था रअका स्टेशन प्रमुख राघव भटनागर समेत लिएर खुमलटार पुगेको स्रोतको दाबी छ ।
खुमलटार राजनीतिको नयाँ शक्तिकेन्द्र बन्दै गएको परिस्थितिमा माओवादी अध्यक्ष प्रचण्डलाई भेट्ने विभिन्न देशका राजदूतले प्रयास गरिरहेको समेत स्रोतको भनाई छ ।
भारतीय राजदूत श्रीवास्तव २२ सिडि ३५ नम्बरको गाडी चढेर शनिवार खुमलटार पुगेको बताइएको छ । चिनियाँ जम्बो टोली नेपाल आउने तयारी गरिरहेका बेला प्रचण्ड, श्रीवास्ताव र भटनागरबीचको भेटलाई अर्थपूर्ण मान्न सकिन्छ ।
नेपालमा नयाँ-नयाँ राजनीतिक घटनाक्रम विकाश भैरहेका बेला विभिन्न देशका राजदूतले बढाएको सक्रियता भने निकै रोचक छ । नागरिकता विद्येयक एकपटक फिर्ता भएर फेरि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाईएको छ । सत्ता गठबन्धनबीच सिटको किचलो चलिरहेका बेला एमालेले माओवादीलाई आकर्षक अफर दिएर चुनावी तालमेलको लागि प्रस्ताव गरेको छ । चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुसहितको जम्बो टोली नेपाल भ्रमणमा आउने तयारी भइरहेको छ भने यता निर्वाचनको मिति पनि नजिकिएको छ । यस्तो बेला विभिन्न देशका राजदूतले प्रचण्डसँग लगातार भेटवार्ता गर्नु थप अर्थपूर्ण छ ।
दाहालले पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता बिद्येयक अस्वीकार गर्ने भए राजीनामा दिएर सडकमा आउन भनेको अभिव्यक्ति दिनुका साथै आफु र प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमणबारे चिनियां राजदूतले चांसो राखेको बताएका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले शनिबार मात्रै भारतमा आरजु राणा देउवासँग भेट भएको र त्यो खबर चीनसम्म पुगेको बताएका थिए । त्यसलगत्तै माओवादी अध्यक्ष दाहाल चीन भ्रमणमा जाने तयारी गरेको खबर सार्वजनिक भएको थियो ।
निरन्तर प्रयास हुँदापनि चीनले भने उनको भ्रमण फिक्स गरेको छैन । भारतको भ्रमणमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम अन्तिम समयमा रद्द भएको थियो । यस्तै प्रचण्डले चीन भ्रमण गर्ने भन्ने हल्ला चलेको धेरै भएपनि चीनले भने औपचारिक रूपमा उनलाई बोलाएको छैन ।
संसदबाट एमसीसी पास गर्न प्रचण्डले मुख्य भूमिका खेलेको भन्दै रुष्ट बनेको चीन अहिले सम्बन्ध सुधार गर्ने लाइनमा छ भने एमसीसीपछि प्रचण्डको उठबस भारतीय र अमेरिकी प्रतिनिधिहरूसँग बढी भैरहेको बताइन्छ ।